खोटाङ जिल्लाको जन्तेढुंगामा दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं ५ स्थित चिसापानी नमुना माध्यमिक विद्यालयमा जातीय विभेद र छुवाछूत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईं, कार्यपालिका सदस्य तारा कोईराला, ध्रुव बिश्वकर्मा, वडा महिला सदस्य गिता परियार, विद्यालयका प्रधानाध्यापक रामबहादुर राउत समेतको उपस्थिती रहेको थियो ।
जातीय विभेदमा परेका र पारिएका दलित समुदाय र गैरदलित समुदायका बीचमा जातीय विभेद र छुवाछूत हटाई समतामूलक समाज निर्माण गर्न विद्यालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष राईले बताए । उनले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछूत उन्मुलन गरेको र नेपालको संविधानको धारा ४० ले दलितको हक स्थापित भएको साथै हरेक वर्ष जेठ २१ गते जातीय विभेद र छुवाछूत उन्मुलन दिवस मनाउने गरिएको भए पनि समाजमा जातीय विभेद र छुवाछूत हट्न नसकेपछि पालिकाले जनचेतना बढाउन यस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताए ।
मानिस भएर जन्म कै आधारमा श्रम गर्नेलाई सार्वजनिक स्थल, मन्दिर, धारा पधेरा एवं अन्तरजातीय विवाह आदिमा भेदभाव गरिए दण्ड सजाय हुने हुँदा सो बारे कानूनी ज्ञान दिन जरुरी रहेको उनको भनाई छ ।
जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग र महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष दुर्गा जयन्ती राईले र स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख जेनिसा तिम्सिनाले गरेका थिए ।
जन्तेढुंगा गाउँपालिका वडा नं ५ का जनप्रतिनिधि, समाजसेवी, चिसापानी विद्यालयका शिक्षक र विद्यार्थी लगायत ६० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गरेकी थिइन् ।
साथै स्थानीय स्तरमा जातीय विभेद र छुवाछुत उन्मुलन गर्न जन्तेढुंगा गाउँपालिकाको काउले र डम्बरखुमा समेत अन्तरक्रिया कार्यक्रम गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस