कवितासङ्ग्रह- ‘देश खोजिरहेको मान्छे’को विमोचन तथा कवितामा दलित जागरण कविगोष्ठी सम्पन्न

सरोजदिलुको कवितासङ्ग्रह– “देश खोजिरहेको मान्छे” दलित प्रतिरोध, दलित चेतना र समसामयिक सामाजिक यथार्थको एउटा महत्त्वपूर्ण कवितात्मक दस्तावेज पनि हो ।

दलित निगरानी
३० भदौ २०८३, मंगलबार

भाद्र ३०, काठमाडौं ।

कविता विचारको संवाहक मात्र नभई अनुभूतिको कलात्मक अभिव्यक्ति पनि हो । कविताले सामाजिक अन्यायविरुद्ध प्रतिरोधको चेतना जगाउँदै पाठकलाई विचार, अनुभूति अनि संघर्षको त्रिवेणीसम्म पुर्‍याउने गर्दछ । यही प्रसङ्गमा दलित आन्दोलनको अनलाईन आरकाइभ् खवर दलित निगरानीले फरक शैलीमा आज एक कविता गोष्ठी तथा कवितासङ्ग्रहको विमोचन सम्पन्न गरेको छ । नेपाल इन्टेलेक्चुअल फोरमको सहकार्यमा राजधानीमा आयोजित कार्यक्रममा सरोजदिलु विश्वकर्माको नयाँ पुस्तक “देश खोजिरहेको मान्छे”को विमोचन तथा कवितामा दलित जागरण विषयक कवि गोष्ठी भएको हो ।

दलित निगरानीका प्रधानसम्पादक हिरा विश्वकर्माको अध्यक्षतमा र राष्ट्रिय दलित आयोगमा अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रम करिव एक दर्जन कविहरुले दलित समुदायमाथिको उत्पीडन दमन तथा छुवाछूत र विभेदका विषयमा आफ्ना अभिब्यक्तिहरु दिएका थिए ।

कवि गोष्ठीभन्दा अगाडि साहित्यकार डा.नवराज रिजाल, कवि छविरमण सिलवाल, संविधानसभा सदस्य शारदा स्वर्णकार, आयोग अध्यक्ष देवराज विश्वकर्मा र दलित अभियन्ता डा.मित्र परियारबाट सरोजदिलुको नवौं कृति– सो कवितासङ्ग्रहको विमोचन गरिएको थियो । उक्त पुस्तकमा डा.गोविन्द नेपाल र प्रगती लेखक सङ्घका कोषाध्यक्ष डा.कृष्ण सुवेदीले समिक्षा राख्नुभएको थियो ।

समिक्षमा डा.नेपालीले कविता लेखेर मात्र कवि होइँदैन, लेखिएका कविताका भावमा डुवेर त्यसलाई प्रस्तुत गर्ने कला पनि हुनुपर्छ, तव मात्र कवि हुनसकिन्छ भन्दै कवितासङ्ग्रहका लेखक सरोजदिलुमा प्रस्तुत गर्ने कला समेत रहेको बताउनु भयो । कवि सरोजदिलु हरेक विद्यामा मिहिनेत गर्ने र कलम चलाउन आँट गर्ने क्षमता भएको र कवितामा अभिव्यक्त दलित चेतना र प्रतिरोधसँगै समकालीन सामाजिक–राजनीतिक चेतले नेपाली समाजका अनेक अन्तर्विरोधलाई पाठकसमक्ष ल्याएकोमा लेखकलाई धन्यवाद दिदै लेखकले आफ्ना लेखाईमा अझै मिहिनेत गर्नुपर्नेमा सुझाव दिनुभयो । अर्का समिक्षक डा.सुवेदीले कविताले यथार्थ धरालतको पीडा बोकेको र त्यसलाई सरल भाषा र पद मिलाएर मिठास भरिएको भन्दै लेखकको सह्राना गर्नुभयो । उहाँले पद्य कवितामा लेखक निकै पोख्त भएपनि गद्य विधामा भने अझै धेरै सिकाई गर्न बाँकी रहेको धारणा राख्नुभयो । सानातिना कमजोरी रहे पनि सरोजदिलुको सो कवितासङ्ग्रह ‘देश खोजिरहेको मान्छे’ दलित प्रतिरोध, दलित चेतना र समसामयिक सामाजिक यथार्थको एउटा महत्त्वपूर्ण कवितात्मक दस्तावेज भएको उहाँको भनाई थियो ।

पुस्तक विमोचन र समिक्षापछि कवितामा दलित जागरण विषयक कवि गोष्ठी आयोजना भएको थियो । कवि गोष्ठीमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पत्रकार अभय श्रेष्ठ, कवि मित्रलाल पङ्गेनी, डा.कृष्ण सुवेदी, डा.मित्र परियार, सुशिल विश्वकर्मा, अधिवक्ता यामकुमारी ददेल,  दिपकनारायण श्रेष्ठ लगायत करिव एकदर्जन कविहरुले प्रस्तुती दिएका थिए ।

आयोग अध्यक्ष विश्वकर्माले शासन, प्रशासन, अड्डा–अदालत, राजनीति, सुरक्षा निकाय, सङ्घ-संस्था आदि सवैमा गैरदलितहरुकै नेतृत्व हुने अनि देश नबनेको दोष अरुलाई किन दिइरहने भन्ने प्रसङ्गमा ‘यसमा मेरो के दोष ?’ शिर्षकको कविता वाचन गर्नुभएको थियो । कवि शुशिल विश्वकर्माले जातपात, वर्गीय विभेद नगरिने भनेर कम्युनिष्ट भइयो तर त्यही कम्युनिष्टमा जातब्यवस्था र छुवाछूत रहेको, एकले अर्कोलाई जातीय र वर्गीय विभेद गर्नेगरेको भन्दै ‘कम्युनिष्टहरुको जात’ विषयमा प्रस्तुती दिनुभएको थियो । पत्रकार अभय श्रेष्ठले जातपात र विभेद रहिरहे फेरी महाभारत दोहोरिने भन्दै फेरी कहिल्यै रगत नबगाउनका लागि अहिल्यै जातपात र छुवाछूत फाल्नु पर्ने विषयमा कविता वाचन गर्नुभयो । यसैगरी कवि मित्रलाल पङ्गेनीले कसले बनायो जात ? यो जात बनाउनेहरुको अवशेष अहिल्यै नै मिल्काउन तयार हौं भन्दै दलित समुदायलाई उद्धैलित बनाउनु भएको थियो । डा.मित्र परियारले भने खगेन्द्र सुनार र दीपा नेपालीको आन्दोलनलाई ब्यङ्गे गर्दै यस्ता आन्दोलन थुप्रै भए तर केवल एउटा ब्यक्तिका फायदाका लागि गरिएको विषयमा कविता प्रस्तुत गर्नुभयो ।

संगीतकार दिपकनारायण विश्वकर्माले भने देश छोड्न बाध्य पारिएका युवाहरुको प्रसङ्गमा लयात्मक गीत प्रस्तुत गर्नुभएको थियो। गोष्ठीमा सामाजिक अभियन्ता गजाधर सुनार, अधिवक्ता द्वय यामकुमारी ददेल र चक्रमान विश्वकर्मा, प्रदीप घतानीसमेतले कविता बाचन गर्नुभएको थियो ।

आरम्भमा अध्यक्ष हिरा विश्वकर्माले साहित्य के हो ? दलित आन्दोलनमा किन आवश्यक छ ? यसले आन्दोलनमा कसरी भूमिका खेल्दछ ? भन्ने विषयमा संक्षिप्त अवधारणा राख्दै उक्त कार्यक्रमको औचित्यका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन भने नेपाल इन्टेलेक्चुअल फोरमका महासचिव प्रदिप घतालले गर्नुभएको थियो भने उक्त कार्यक्रमलाई रेडियो हिमालयले अन्तर्राष्ट्रियस्तरमा लाइव् ब्रोडकाष्ट समेत गरेको थियो ।