दलित मुक्तिको वास्तविक फरक पाटो

जातीय विभेदको मनोविज्ञानवाट मुक्ति कहिले?

जीवनका अनुभुतिहरु

हिरा विश्वकर्मा
१६ भदौ २०८३, मंगलबार

केही दिनअघि अमेरिकाको डेनभरमा रहेका एकजना साथीले आफ्नो एउटा अनुभव सुनाए। उनको अनुभव सुन्दा मलाई लाग्यो—दलित मुक्तिको बहसमा हामीले अहिलेसम्म एउटा महत्वपूर्ण कुरा छुटाइरहेका रहेछौँ। उनले भने, नेपालमा रहँदा जहाँ जाँदा पनि मनको एउटा कुनामा डर हुन्थ्यो—“मेरो जात थाहा पाए भने के होला?” अपरिचित मानिससँग भेट हुँदा, नयाँ ठाउँमा पुग्दा, कसैको घरमा जाँदा, खाना खान बस्दा वा सामान्य कुराकानी गर्दासमेत कतै न कतै आफ्नो जात सोधिने र त्यसपछि व्यवहार बदलिने हो कि भन्ने शंका भइरहन्थ्यो। त्यो शंका आफैँमा एउटा मानसिक तनाव रहेछ।

तर अमेरिकामा पुगेपछि, विशेषगरी डेनभरमा, त्यो डरबाट उनी केही हदसम्म मुक्त भए। यहाँ कसैले जात सोध्दैन, जातका आधारमा आफूलाई कसैले छुट्याउला कि भन्ने डर पालेर हिँड्नुपर्दैन भन्ने अनुभूति नै उनलाई एउटा अनौठो आनन्दजस्तो लागेछ। उनको कुरा सुन्दै गर्दा मलाई करिब तीन दशकअघिको एउटा घटना सम्झना आयो।

सिन्धुलीको वस्तिपुर। त्यतिबेला हामी केही साथीहरू त्यस ठाउँमा पुगेका थियौँ। हामीसँग केही गैरदलित साथीहरू थिए। स्थानीय एक थामी परिवारको घरमा हाम्रो बस्ने व्यवस्था भयो। हामी त्यहाँ करिब तीन दिन बस्यौँ। अरू साथीहरूका लागि ती तीन दिन सामान्य थिए। उनीहरू सहज थिए। कुराकानी गर्थे, गाउँका मानिससँग घुलमिल हुन्थे, आफ्नो परिचय दिन्थे। उनीहरूले आफ्नो नामसँगै थर पनि ढुक्कसँग भन्थे।

तर मेरो अवस्था त्यस्तो थिएन। जब कसैले सबैको परिचय सोध्थ्यो, अरू साथीहरूले सहजै आफ्नो नाम र थर भन्थे। मेरो पालो आउँदा भने मेरो मनमा एउटा इच्छा हुन्थ्यो—“मैले आफ्नो थर भन्नैनपरे हुन्थ्यो!” नाम त मेरो आफ्नै थियो। तर नामसँग जोडिएको थर अचानक एउटा जोखिम बनेको थियो। गाउँका कसैले मेरो नाम सोध्दा मेरो जवाफ पूरा हुन नपाउँदै मेरा साथीहरूले कुरालाई अन्तै मोडिदिन्थे। उनीहरूले शायद मेरो मनको डर बुझिसकेका थिए। मलाई बचाइरहेका थिए।

त्यो तीन दिन मैले बाहिरबाट हेर्दा अरू साथीहरूजस्तै बिताएँ। तर भित्रभित्रै म लगातार सचेत थिएँ। कसैले मेरो जात थाहा पायो भने के होला? व्यवहार बदलियो भने? अपमान भयो भने? खाना, बसाइ वा सम्बन्धमा कुनै विभेद भयो भने? अरूका लागि त्यो गाउँमा बिताएका तीन दिन केवल तीन दिन थिए। मेरा लागि भने ती तीन दिन मानसिक तनावका तीन दिन थिए। जसोतसो त्यो समय बित्यो। हामी काठमाडौं फर्कियौँ।

तर वस्तिपुरसँग मेरो कथा त्यहीं समाप्त भएन। करिब एक वर्षपछि फेरि त्यही ठाउँमा जानुपर्ने भयो। यसपटक मसँग एकजना बेलायती पाहुना थिए। म काम गर्ने कार्यालयले त्यहाँका केही गैरदलित युवालाई कर्मचारी बनाइसकेको थियो। त्यसैले यसपटक मेरो नाम र परिचय लुकाउने कुनै सम्भावना थिएन। स्थानीय कर्मचारीहरूलाई म को हुँ भन्ने थाहा थियो। हामीले त्यही गाउँमा रात बिताउनुपर्ने भयो। मेरो मनमा फेरि पुरानै डर फर्कियो। यसपटक मेरो चिन्ता केवल आफ्नै लागि थिएन। ती विदेशीले के सोच्ने हुन भन्ने पनि थियो ।

हाम्रो बस्ने व्यवस्था त्यही स्थानीय कर्मचारीको घरमा भयो। सामाजिक र कार्यालयीय हैसियतमा ती कर्मचारीहरू मभन्दा निकै तल्लो तहमा थिए। तर बस्ने ठाउँ भने फरक थियो। पहिलो पटक म वस्तिपुरमा थामी परिवारको घरभित्रै बसेको थिएँ। यसपटक भने हामीलाई गोठको माथिल्लो तलामा बस्ने व्यवस्था भयो।

तल गाईवस्तु थिए। माथि पहिले सुक्खा घाँस राखिन्थ्यो। घाँस पन्छाएर हामीलाई सुत्ने ठाउँ बनाइएको थियो। हामीसँग आफ्नै स्लिपिङ ब्याग भएकाले ओछ्यानको समस्या भएन। तर तल गाईवस्तु र माथि घाँस—त्यहाँ ससाना किराहरू हुनु स्वाभाविक थियो। किराहरुलाई गाईवस्तु भन्दा फरक रगत चुस्न पाउने मौका थियो ।

मेरो विदेशी पाहुनाले शायद सोचे होलान्—“नेपालको गाउँमा यस्तै होला।” तर मलाई वास्तविकता थाहा थियो। मलाई लागिरहेको थियो—“के यो मेरो कारणले भएको हो?” सबैभन्दा ठूलो त्रास भने अझै बाँकी थियो। खाना त्यहीँ आइपुग्यो। सामान्यतः कसैको घरमा पाहुना लागेपछि पाहुनाले आफूले खाना खाएको भाँडा माझ्नु पर्दैन। तर मेरो जात ‘पानी नचल्ने’ भएको अवस्थामा मैले प्रयोग गरेको भाँडा आफैँ माझ्नुपर्ने सामाजिक चलन थियो। त्यो सम्भावनाले मलाई भित्रैदेखि हल्लायो। म अझै पनि कहिलेकाहीँ कल्पना गर्छु—यदि त्यो दिन मैले खाना खाएपछि आफ्नो भाँडा आफैँ माझ्नुपरेको भए के हुन्थ्यो?  मेरो विदेशी पाहुनाले पक्कै सोध्थे होलान्—

“तिमीले मात्रै किन भाँडा माझेको?”

त्यो प्रश्नको उत्तर मैले के दिने थिएँ?

के म उनलाई भन्थेँ—“म दलित भएकाले”?

के म एउटा विदेशी नागरिकलाई नेपालको जातव्यवस्थाको त्यो कुरूप अनुहार देखाउन सक्थेँ?

के म भन्न सक्थेँ—“यहाँ पाहुना भएर आए पनि मेरो जातका कारण मैले आफ्नै भाँडा आफैँ माझ्नुपर्छ”?

म आज पनि त्यो प्रश्नको उत्तर सोच्न सक्दिनँ।

भाग्यवश, ती स्थानीय कर्मचारीले हामीले प्रयोग गरेका भाँडा आफैँ भित्र लगे। मलाई भाँडा माझ्न लगाएनन्। जीवनमा कहिलेकाहीँ हामीले ठूलो उपलब्धि होइन, एउटा सम्भावित अपमानबाट जोगिनुलाई नै ठूलो राहतका रूपमा अनुभव गर्नुपर्दो रहेछ। त्यो दिन म एउटा अपमानबाट जोगिएँ। तर आज, तीन दशकपछि फर्केर हेर्दा मलाई लाग्छ—त्यो भाँडा मैले माझ्नु नपरेको मात्र घटना थिएन; त्यो घटना मेरो मनमा जातव्यवस्थाले बनाएको अदृश्य जेलको एउटा झ्याल थियो।

जातव्यवस्थाको पीडा केवल त्यतिबेला हुँदैन, जब कसैले तिमीलाई अपमान गर्छ। त्योभन्दा ठूलो पीडा त त्यसभन्दा पहिल्यै सुरु हुन्छ—अपमान हुन सक्छ भन्ने डरबाट। कुनै नयाँ ठाउँमा पुग्दा आफ्नो थर लुकाउन खोज्नु। कसैले परिचय सोध्दा मुटु ढुकढुक हुनु। आफूले छोएको भाँडाको बारेमा सोच्नु। आफूले खाने ठाउँ, बस्ने ठाउँ र सम्बन्धहरूमा आफ्नो जातले निर्णय गर्ने हो कि भनेर सशंकित हुनु। यी सबै अनुभवहरूले मानिसको मनमा एउटा अदृश्य पहरेदार खडा गर्छन्। त्यो पहरेदारले हरेक नयाँ ठाउँमा पुग्दा भन्छ—“सावधान! तिम्रो जात थाहा पाए भने?”

सायद यही कारणले डेनभरमा मेरो साथीले अनुभव गरेको आनन्दलाई मैले अहिले अझ गहिरो रूपमा बुझ्न सकेँ। जब कसैले जात सोध्दैन, जब आफ्नो परिचय दिँदा थर उच्चारण गर्न डराउनु पर्दैन, जब कसैले आफूले छोएको भाँडालाई अलग राख्छ कि भनेर सोचिरहनुपर्दैन, जब कुनै घरमा पाहुना भएर बस्दा आफ्नो जातले आतिथ्यको स्तर निर्धारण गर्छ कि भनेर चिन्ता गर्नुपर्दैन—त्यतिबेला मानिसले आफ्नो अस्तित्वलाई अलि फरक ढंगले अनुभव गर्दोरहेछ। सायद यही हो मनोवैज्ञानिक मुक्ति।

हामी दलित मुक्तिलाई प्रायः राजनीतिक प्रतिनिधित्व, आर्थिक समानता, शिक्षा, रोजगारी, भूमि, अधिकार र कानुनी संरक्षणका रूपमा बुझ्छौँ। यी सबै अत्यन्त आवश्यक छन्। तर मुक्तिको एउटा अर्को तह पनि छ—डरबाट मुक्ति। अरूले मलाई के ठान्छन् भन्ने डरबाट मुक्ति।

मेरो जात थाहा पाएपछि के होला भन्ने डरबाट मुक्ति। मेरो थर उच्चारण गर्दा अपमानित हुनुपर्ने हो कि भन्ने डरबाट मुक्ति। सायद वास्तविक मुक्ति त्यतिबेला सुरु हुन्छ, जब एउटा दलित मानिसले कुनै अपरिचित ठाउँमा पुगेर पहिलोपटक ढुक्कसँग आफ्नो नाम र थर भन्न सक्छ—र त्यसपछि पनि उसको मनमा कुनै डर पैदा हुँदैन।जातव्यवस्थाले दलितको शरीरलाई मात्र विभाजित गरेको छैन; यसले उसको मनमा पनि सीमारेखा कोरेको छ।

 

त्यसैले दलित मुक्ति भनेको केवल समाजले दलितलाई समान व्यवहार गर्ने अवस्था होइन। दलितले पनि आफूलाई कुनै डर, संकोच र आत्महीनताबिना स्वतन्त्र मानिसका रूपमा अनुभव गर्न सक्ने अवस्था हो।सायद कुनै दिन हामी यस्तो समाज बनाउनेछौँ, जहाँ कसैले कसैलाई जात सोध्नुपर्ने आवश्यकता हुनेछैन।त्यो दिन एउटा दलितले आफ्नो थर लुकाएर होइन, आफ्नो सम्पूर्ण परिचयका साथ ढुक्क भएर बाँच्न पाउनेछ।र सायद त्यस दिन हामी पहिलोपटक साँच्चिकै भन्न सक्नेछौँ—

जातबाट मुक्ति केवल समाजको परिवर्तन होइन, मनको पनि मुक्ति रहेछ।