सत्याग्रहको ४४औं दिन

कविता वाचन – सरकार, कोठा खाली छ ?

दलित निगरानी
१८ जेठ २०८३, सोमबार

जेष्ठ १८, काठमाडौं ।
कोठा खाली छ भनेर दीपा नेपालीको संयोकत्वमा माइतीघर मण्डलामा भइरहेको सत्याग्रहको ४४औं दिनमा आज विभिन्न कविहरुले कविता वाचन गरेका छन् । डेरामा बस्ने दलितहरुलाई शहरका घरवेटीहरुले कोठा दिँदा जातका सोध्ने गरेको र जात थाहा पाएपछि कोठाबाट बिभिन्न वहानामा निकालेको विषयलाई लिएर कविहरुले कविता वाचन गरेका हुन् ।

सत्याग्रहको आजको दिन सरोजदिलु विश्वकर्मा, सुप्रीया नेपालीलगायतले कविता वाचन गरेका थिए ।

सातवर्ष अगाडी दीपा नेपालीलाई घरवेटीले जात सोधी कोठाभाडामा बञ्चित गरेपछि उनले अदालतमा मुद्दा हालेकी थिइन् । सो मुद्दा अहिले पनि अदालतमा विचाराधिन रहेको छ । त्यसपछि शहरमा आइ कोठाभाडामा बस्दा घरवेटीहरुबाट जातीय विभेदमा पर्दै आएका दलितहरुको प्रतिनिधित्व गर्दै उनी निरन्तर सडक संघर्ष र कानुनी लडार्इँ लडिरहेकी छिन् ।

अहिले पनि उनी घरवेटीबाट जातीय विभेदमा परेका दलितहरुको समान हक र आत्मसम्मानका लागि विगत ४४ दिनदेखि माइतीघर मण्डलामा उभिएर ‘कोठा खाली छ ?’ भन्दै सत्याग्रह आन्दोलनको नेतृत्व गरिरहेकी छन् । यस आन्दोलनमा दलितका विभिन्न अभियन्ताहरु, गैरदलित युवा–विद्यार्थीहरु, लेखक, साहित्यकारहरु तथा कलाकारहरुले एक्यवद्धता जनाउँदै आएका छन् ।

यस आन्दोलनका विषयमा सांसद सुहाङ नेम्वाङ, नीता घतानीलगायतले संसदमा समेत न्यायका लागि आवाज उठाएका छन् ।